प्रधानमन्त्री कार्कीले डाकिन् ७ दलका शीर्ष नेता, तोडिएला चुनावी गतिरोध ?

काठमाडौं । मुलुकको राजनीतिक सरगर्मी बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा मंगलबार प्रमुख सात राजनीतिक दलका नेताहरूसँग महत्त्वपूर्ण छलफल गर्दै छिन् । फागुन २१ गतेका लागि निर्धारित निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीले एकैसाथ सबै प्रमुख दलका प्रतिनिधिसँग सामूहिक वार्ता गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, दिउँसो ४ बजेका लागि तय भएको यस छलफलमा राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्री कार्कीले यसअघि विभिन्न दलका नेताहरूसँग अलग-अलग भेटवार्ता गरे पनि निर्वाचन तयारीका विषयमा संयुक्त रूपमा छलफल गर्न लागेको यो पहिलो पटक हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका प्रमुख दलका नेताहरूको सहभागिता रहनेछ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार जेनएजी आन्दोलनपछि हटेर कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएयता यस सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउने मुख्य म्यान्डेट पाएको छ ।

निर्वाचन तयारीका विषयमा सरकारले दलहरूसँग पर्याप्त छलफल नगरेको भन्दै पछिल्लो समय राजनीतिक वृत्तमा आलोचना बढिरहेका बेला प्रधानमन्त्रीले यो कदम चालेकी हुन् । यस छलफलले निर्वाचनको वातावरण थप सौहार्दपूर्ण बनाउन र दलहरूबीच साझा धारणा निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, छलफलका लागि सबै दललाई औपचारिक पत्र पठाइनुका साथै फोनमार्फत समेत जानकारी गराइएको छ । सञ्चारमन्त्री जगदीश खरेलले सातै दलका नेताहरूलाई खबर गरेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री