विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि, शोकलाई शक्तिमा बदल्न घरमै पुगे इजरायली राजदूत

महेन्द्रनगर । इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उच्च शिक्षा र उज्ज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको नियतिले दुई वर्षपछि दु:खद मोड लिएको छ । हमासको क्रूर बन्धकमा परेका विपिनको पार्थिव शरीर दुई वर्षपछि बाकसमा घर फर्कंदा महेन्द्रनगरस्थित उनको परिवार र सिङ्गो टोल शोकमा डुबेको छ । सपनाको इन्द्रेणीमाथि बज्रपात भएको यो क्षणमा सबैको आँखा रसाएका छन् ।

सोमबार विपिनको शव घरमा आइपुग्दा परिवार, आफन्त र छरछिमेक मात्र होइन, नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बास र नेपाल–इजरायल सम्बन्ध सल्लाहकार नदाब पनि उपस्थित थिए । इजरायलले आफ्ना नागरिकसरह विपिनको परिवारलाई गरेको यो सहयोगले दुई देशबीचको सम्बन्धको गहिराइ देखाउँछ । राजदूत र सल्लाहकार स्वयम् विपिनको घरसम्म पुगेर परिवारलाई शव हस्तान्तरण गरे ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पाले उनको सकुशल रिहाइका लागि इजरायलदेखि अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरेका थिए । तर, सबै प्रयास निरर्थक बने । हमासले केही दिनअघि मात्र विपिनको मृत्यु भएको सार्वजनिक गरे पनि आमा पद्मालाई सोमबार बिहानसम्म यसको जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलिन् । यो दृश्यले परिवारको हृदयविदारक पीडा स्पष्ट पार्छ ।

सोमबार दिउँसो काठमाडौँ पुर्‍याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट राति अबेर धनगढी ल्याइयो । आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा उनको अन्तिम दाहसंस्कार गरिनेछ ।

इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त रिपोर्टले घटनाको क्रूरतालाई पुष्टि गर्छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मात्र विपिनको मृत्यु भएको पुष्टि भयो ।

विपिनका परिवारका सदस्य किशोरले आज बिहान महाकाली नदीमा उनको अन्तिम संस्कार गरिने बताए । उनले भने, ‘भाइ फर्किने ठूलो आशा थियो । तर सबै सपनामाथि बज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री