ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ सञ्चालन, मस्तिष्कघातका बिरामीलाई नयाँ आशा

काठमाडौं । नेपालमा पहिलोपटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट मान्यताप्राप्त ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याएको छ। यस अत्याधुनिक केन्द्रको स्थापनासँगै मस्तिष्कघातका बिरामीहरूले नेपालमै उच्चस्तरीय उपचार सेवा प्राप्त गर्ने अवसर पाएका छन्।

अस्पतालको गुणस्तरीय सेवा र उत्कृष्ट मूल्याङ्कनका आधारमा यो विशेष केन्द्र सञ्चालन गर्ने अवसर ग्राण्डीले पाएको हो। यस केन्द्रको स्थापनाले मस्तिष्कघातको उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

अस्पतालका न्युरोलोजिस्ट तथा मस्तिष्कघात उपचार कार्यक्रमका निर्देशक डा. राजु पौडेलले यस मान्यताले नेपाली जनतालाई विश्वस्तरीय मस्तिष्कघात उपचार प्रदान गर्ने ग्राण्डीको प्रतिबद्धतालाई झल्काउने बताए। उनले बिरामीको उपचारमा यसले ठूलो टेवा पुग्ने पनि स्पष्ट पारे।

मस्तिष्कघात विश्वव्यापी रूपमा मृत्यु र शारीरिक अशक्तताको प्रमुख कारण हो। नेपालमा हरेक १० मिनेटमा एक व्यक्ति मस्तिष्कघातबाट पीडित हुने तथ्याङ्क छ। यस्तो अवस्थामा एडभान्स्ड स्ट्रोक सेन्टरको स्थापनाले जीवन बचाउन र बिरामीको अवस्था सुधार ल्याउन द्रुत उपचार प्रणालीमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालले मस्तिष्कघातका बिरामीको उपचारमा प्रत्येक क्षण महत्वपूर्ण हुने बताए। उनले यो केन्द्रले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। विशेषगरी ठूला रक्तनली अवरोधमा गरिने थ्रोम्बेक्टोमी जस्ता उपचारात्मक विधिले समयमै उपचार सुनिश्चित गरी बिरामीको अवस्थाको जटिलतालाई न्यूनीकरण गर्न मद्दत पुग्ने उनको भनाइ छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात उपचारका लागि न्युरोइमेजिङको माध्यमले कोइलिङ, स्याक्युलर डाइभर्सन, डिभाइसहरू, आर्टेरियो भेनस–मालफर्मेशनको उपचार, क्यारोटिड स्टेन्टिङ, र जटिल एन्युरिज्ममा फ्लो डाइभर्टर जस्ता चिकित्सकीय रुपमा जटिल र प्रभावकारी विधिहरू प्रयोग गर्दै आएको छ।

अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालमा न्युरोलोजिकल उपचारको विकास गर्न र मस्तिष्कघात उपचार तथा बिरामीको हेरचाहका लागि उच्चतम अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न निरन्तर प्रतिबद्ध रहेको बताए। उनले विश्वस्तरीय मस्तिष्कघात उपचारका लागि अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप