कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको विशेष उपस्थिति तथा आन्तरिक मामिला तथा कानून मन्त्री हीरा साकीको संयोजकत्वमा आज मुख्यमन्त्री निवासमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भयो। बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति, चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध नियन्त्रण, बजार अनुगमन तथा सुशासन कायम गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मुख्य निर्णयहरू:
१. प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीति:
संवत् २०८२ साल फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीति तयार गरी आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ।
२. चाडपर्वमा सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिने:
दिपावली र छठ पर्वको समयमा सुदूरपश्चिमबाट भारत जाने मुख्य नाकाहरूमा हुन सक्ने लुटपाटका घटनाहरू तथा भारत जाने र आउने नागरिकहरूको आवागमनलाई सहज बनाउन एवं नाकामा हुने अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले एकीकृत जाँचको व्यवस्था मिलाउने भएका छन्।
३. लागुऔषध नियन्त्रणमा संयुक्त रणनीति:
लागुऔषध बिक्री वितरण एवं ओसारपसारका गतिविधिहरूलाई नियन्त्रण र नियमन गर्न सरोकारवाला निकायहरूले संयुक्त रणनीति तयार गरी त्यसको कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने निर्णय भएको छ।
४. बजार अनुगमन प्रभावकारी बनाइने:
दिपावली र छठ पर्वको समयमा बजारमा हुन सक्ने अस्वाभाविक गतिविधिहरू (जस्तैः मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद नाघेका खाद्यवस्तुको बिक्री) नियमन गर्न सम्बन्धित निकायहरूले अनुगमन तथा मूल्यांकन प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय भएको छ।
५. सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गरिने:
सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र जनआकांक्षा अनुरूप बनाउनका साथै सुशासन कायम गर्नका लागि सबै सार्वजनिक निकायहरूले सेवाको सरलीकरण र सबलीकरण एवं संस्थागत सुदृढीकरण गर्न निर्देशन दिने निर्णय भएको छ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, महाशाखा प्रमुख कोमल प्रसाद ओझा, नेपाली सेना, सुदूरपश्चिम पृतना हेडक्वाटर, तेघरीका पृतनापति उपरथी किरण केसी, सशस्त्र प्रहरी बल नेपाल, नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय, अत्तरियाका सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप कुमार पाल, नेपाली सेना, सुदूरपश्चिम पृतना हेडक्वाटर, तेघरी, कैलालीका महासेनानी ईश्वर बुढाथोकी, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका सह अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दहाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा लगायतको उपस्थिति थियो ।




