काठमाडौं । प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकलाई लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मान गरेको छ । यो महत्वपूर्ण घोषणासँगै बैंकले आफ्नो वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकालाई थप सुदृढ गरेको छ ।
यस गौरवमय उपलब्धीमा बैंकका अध्यक्ष चन्द्र ढकालले हार्दिक आभार व्यक्त गरेका छन् । उनले बैंकको निरन्तर प्रगतिको श्रेय नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, अथक प्रयास गर्ने कर्मचारीहरू तथा समस्त शुभेच्छुकहरूलाई दिएका छन् । ढकालले भने, ‘यस गर्व र खुसीको क्षणमा हामीलाई निरन्तर दिशानिर्देश गर्ने, साथ र सहयोग प्रदान गर्ने नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, लक्ष्य प्राप्तिमा निरन्तर खटिने कर्मचारी साथीहरू तथा सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
अध्यक्ष ढकालले यस्ता सम्मानले बैंकलाई आगामी दिनमा अझ ठूला उपलब्धिहरू हासिल गर्नका लागि प्रेरणा मिल्ने बताएका छन् । उनले भविष्यमा थप सफलताका लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
ग्लोबल फाइनान्स म्यागेजिनले हरेक वर्ष विश्वभरका उत्कृष्ट वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले प्राप्त गरेको यो दोस्रो लगातारको सम्मानले बैंकको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट सेवा प्रवाह र दिगो व्यावसायिक रणनीतिलाई पुष्टि गर्दछ ।




