नागरिक एपबाट मतदाता नामावली दर्ताको सुविधा सुरु, अब घरैबाट प्रि-इनरोलमेन्ट गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज र आधुनिक बनाउँदै नागरिक एपमार्फत ‘प्रि-इनरोलमेन्ट’ सेवाको सुरुवात गरेको छ। आज राति ११:५९ बजेदेखि लागु हुने यो सेवाले नागरिकहरूलाई आफूलाई पायक पर्ने जिल्ला निर्वाचन कार्यालय छनोट गरी अनलाइनबाटै प्रि-इनरोलमेन्ट फारम भर्न सक्ने सुविधा प्रदान गर्नेछ।

डिजिटल माध्यमको प्रयोग गरी मतदाता दर्ता प्रक्रियालाई सरलीकरण गर्ने उद्देश्यका साथ थालिएको यस पहलले आम नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। नागरिक एप (v2.0.84) को अद्यावधिक संस्करणमार्फत यो सुविधा उपयोग गर्न सकिनेछ।

कसरी गर्ने प्रि-इनरोलमेन्ट ?

१. एप अपडेट: सर्वप्रथम नागरिक एपलाई नवीनतम संस्करण (v2.0.84) मा अपडेट गर्नुहोस्।
२. जिल्ला छनोट: एपमा आफूलाई पायक पर्ने जिल्ला निर्वाचन कार्यालय छनोट गर्नुहोस्।
३. अनलाइन फारम: प्रि-इनरोलमेन्ट फारम अनलाइन भर्नुहोस्।
४. बायोमेट्रिक विवरण: अनलाइन आवेदन भरेपछि आवेदकले फोटो खिचाउने र बायोमेट्रिक विवरण दिने मिति र स्थानबारे जानकारी प्राप्त गर्नेछन्।
५. कार्यालयमा उपस्थिति: तोकिएको समयमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई बाँकी प्रक्रिया पूरा गर्नुहोस्।

पहिले नै दर्ता भएकालाई आवश्यक छैन:

निर्वाचन आयोगले यसअघि नै मतदाता नामावलीमा दर्ता गरिसकेका नागरिकहरूले पुनः दर्ता गर्नु नपर्ने स्पष्ट पारेको छ। यो सेवा नयाँ मतदाताहरूका लागि लक्षित हो।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनको कार्यलाई तीव्रता दिइरहेको छ। नागरिक एपका साथै आयोगले आफ्नो वेबसाइटमार्फत पनि प्रि-इनरोलमेन्ट सेवा यसअघि नै सुरु गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप