काठमाडौं । ‘जेनजी’ पुस्ताका प्रभावशाली युवा अभियन्ता मिरज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । देशले गम्भीर अवस्थाको सामना गरिरहेको र निकास खोजिरहेको भन्दै ढुंगानाले नयाँ दल गठनको निष्कर्षमा पुगेको बताएका छन् ।
शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरी ढुंगानाले औपचारिक रूपमा आफ्नो नयाँ दलको घोषणा गर्ने जानकारी दिएका छन् । यस घोषणासँगै नेपाली राजनीतिमा युवाहरूको सक्रिय सहभागिता र वैकल्पिक शक्तिको उदयको सम्भावना थप बलियो बनेको छ ।
ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरूका साथ दल दर्ता गर्ने बताएका छन् । यी एजेन्डाहरूले नेपालको शासन प्रणालीमा व्यापक सुधार र प्रवासी नेपालीहरूको हक अधिकारको सुनिश्चिततामा जोड दिएको देखिन्छ ।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै ढुंगानाले पार्टी गठनका लागि वार्ता समिति समेत गठन भइसकेको जानकारी दिएका छन् । उनले भिडियोमा भनेका छन्, ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’
मिरज ढुंगाना ‘जेनजी’ आन्दोलनपछि चर्चामा आएका एक प्रमुख युवा अगुवा हुन् । युवाहरूको आवाजलाई बुलन्द गर्दै सामाजिक र राजनीतिक परिवर्तनका लागि उनले सक्रिय भूमिका खेल्दै आएका छन् ।




