काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर बनेको छ। टोलीले कम्पनीसँग यससम्बन्धी समझदारी गरेको हो।
‘उत्कृष्टताप्रति प्रतिबद्ध रहेको ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो’, टोलीले भनेको छ, ‘हामी यस सिजनलाई सफल बनाउने लक्ष्यका साथ अघि बढ्ने छौँ र आगामी सिजनहरूमा पनि आपसी समझदारीका आधारमा यस साझेदारीलाई निरन्तरता दिने अपेक्षा राख्छौँ।’
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाल प्रेमिएर लिगको दोस्रो संस्करणको लागि सुदूरपश्चिम रोयल्ससँग सहकार्य गरेको बताए।
‘यो सहकार्य अघिल्लो संस्करणमा पनि थियो, दोस्रो संस्करणको लागि पनि रह्यो र आगामी दिनमा पनि रहनेछ भन्ने प्रतिबद्धता कायम राख्छ’, उनले भने, ‘इन्स्योरेन्सले हाम्रो ग्राहकवर्गहरुको रिस्कलाई इन्स्योर गरेको हुन्छ भने खेलाडी भनेको राष्ट्रको गौरव हो र हामीहरुले उहाँहरुलाई इन्स्योर गर्छौँ र उहाँहरूलाई फ़िअरलेस्ली खेल्नको लागि आग्रह पनि गर्छौँ। आशा राख्छौँ– यसपालि कप हाम्रो टिममा आउनेछ भन्दै शुभकामना पनि दिन चाहन्छु।’
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सलिकोले विगतदेखि नै क्रिकेटलाई निरन्तर साथ दिँदै आएको बताए।
‘सलिकोजस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो’, उनले भने, ‘उहाँको यो सहभागिताले एनपीएललाई अझ उचाइमा पुर्याउनेछ, र थप व्यवसायिक संस्थाहरूलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरणा दिनेछ।’
नेपालभर कम्पनीका १०० भन्दा बढी शाखाहरु छन् भने ग्राहकहरुलाई व्यक्तिगत तथा कर्पोरेट बिमाहरुको विस्तृत दायराबाट सेवा प्रदान गर्दै आएको छ।




