महरालाई थुनामा पठाउने आदेश : सुन्धारा कारागार पठाइयो

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौँले मंगलबार र बुधबार थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई काठमाडौँको जगन्नाथदेवल कारागार (सुन्धारा) लगिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

प्रहरी अनुसन्धान अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको एफजेट ०५८७ फ्लाइटबाट काठमाडौँ आएका चिनियाँ नागरिक लि हानसोङको सुटकेसमा राखिएको भेपलाई भन्सारले नियन्त्रणमा लिएको थियो । पछि सो भेपमा सुन लुकाइएको खुलासा भएपछि सीआईबीको अनुसन्धान सुरु भयो ।

सीआईबीले लामो अनुसन्धानपछि ९ किलो सुन तस्करीको निष्कर्ष निकाली भन्सारका कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गर्‍यो । सोही घटनामा महराको संलग्नता देखाउँदै थप अनुसन्धान गरिएको थियो।

महरासँगै उनका छोरा राहुल महरा, दावा छिरिङ, नीमा गुरुङ, र लोकेन्द्र पौडेललाई पनि मतियारका रूपमा मुद्दामा जोडिएको छ । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँको बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री