काठमाडौं । इजरायल र हमासबीचको द्वन्द्वका क्रममा हमास समूहको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था विगत दुई वर्षदेखि अज्ञात रहेको छ, जसले गर्दा उनको परिवारमा छटपटी बढेको छ। परराष्ट्र मन्त्रालयले जोशीको अवस्थाबारे कुनै ठोस जानकारी नभएको बताएको छ।
आज बिहान इजरायलको स्थानीय समयानुसार ७:३० बजे इजरायली सेना (आईडीएफ) ले आयोजना गरेको एक भर्चुअल बैठकमा विपिनका दाजु, आमा र बहिनीसहित इजरायलका लागि नेपाली राजदूत, इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सहभागी थिए। उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीहरूको सूचीमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अझै अज्ञात रहेको जानकारी दिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदानप्रदान गरिएको थियो। इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा पर्ने अपेक्षा गरिएको थियो।
नेपाल सरकारले विगत दुई वर्षदेखि विपिनको सकुशल रिहाइका लागि विभिन्न तहबाट कूटनीतिक प्रयास गरिरहेको छ। परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




