जेनजी आन्दोलनमा टीओबी समूहका सदस्यले बोकेको भनिएको पेस्तोलबारे चौतर्फी चासो

काठमाडौं । ‘जेन-जी’ आन्दोलनका क्रममा टीओबी (TOB) समूहका एक सदस्यले कम्मरमा पेस्तोल बोकेको भन्दै सार्वजनिक भएका तस्वीरहरूले यतिबेला सामाजिक सञ्जालमा तरङ्ग पैदा गरेका छन् । यी तस्वीरहरू भाइरल भएसँगै प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको छ ।

टीओबी समूहको ज्याकेट लगाएका एक व्यक्तिले आफ्नो कम्मरको पछाडि पेस्तोल घुसार्दै गरेको देखिने ती तस्वीरहरूको आधिकारिकता र ती व्यक्तिको पहिचानबारे प्रहरीले आन्तरिक रूपमा छानबिन गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए, ‘पेस्तोल बोकेको हो वा होइन भन्ने अझै यकिन भएको छैन । तर, हामीले यस विषयमा गहिरो अनुसन्धान थालेका छौं ।’
यस प्रकरणले शान्तिपूर्ण भनिएको ‘जेन-जी’ आन्दोलनको स्वरूप र त्यसमा संलग्न समूहहरूको विश्वसनीयतामाथि नयाँ प्रश्न खडा गरेको छ । यदि तस्वीरमा देखिएको हतियार वास्तविक प्रमाणित भए, यसले आन्दोलनका उद्देश्य र सञ्चालनमाथि गम्भीर असर पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।

प्रहरीले टीओबी लगायतका समूहहरूद्वारा आन्दोलनका क्रममा भएका भनिएका अराजक गतिविधिहरू, आगजनी, तोडफोड र अन्य हिंसात्मक घटनाहरूबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ । यो पेस्तोल प्रकरणले ती अनुसन्धानहरूलाई थप बल पुर्‍याउने देखिन्छ ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले उक्त तस्वीरलाई लिएर विभिन्न अड्कलबाजी गरिरहेका छन् । कतिपयले यसलाई आन्दोलनलाई बदनाम गर्ने प्रयास भनेका छन् भने, केहीले सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री