काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ। शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो। यस जितसँगै नेपालले सुपर सिक्समा २ अंकसहित प्रवेश गरेको छ, जबकि जापान अंकविहीन रूपमा सुपर सिक्स खेल्नेछ।
समूह बी बाट नेपाल र जापान दुवैले कुवेतलाई पराजित गरे पनि कुवेत समूह चरणबाटै बाहिरिएकाले त्यसका अंकहरू सुपर सिक्समा जोडिने छैनन्। लगातारको जितले नेपाललाई समूह विजेता र जापानलाई उपविजेताका रूपमा सुपर सिक्समा पुर्याएको छ। समूह ए बाट संयुक्त अरब एमिरेट्स (युएई) र कतारले पहिले नै सुपर सिक्समा स्थान बनाइसकेका छन् भने समूह सी बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ।
सुपर सिक्समा नेपालले जापानबाहेक समूह ए र सी बाट आएका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस चरणको शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा खेल्ने अवसर प्राप्त गर्नेछन्।
रोमाञ्चक रनचेज:
जापानले प्रस्तुत गरेको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो। नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५ ओभरमा ३६ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। कुशलले २१ बलमा ३ चौकासहित २१ रन बनाएर क्याच आउट भए।
आक्रामक ब्याटिङ गरेका अर्का ओपनर आशिफ शेखले २१ बलमा १ चौका र ४ छक्काको मद्दतले ३८ रन बनाएर आठौँ ओभरको दोस्रो बलमा पवेलियन फर्किए। कप्तान रोहित पौडेल १८ रनमा एलबीडब्लु धरापमा परे भने सन्दीप जोरा ५ रनमा र कुशल मल्ल ४ रनमा आउट भए।
तल्लो क्रममा गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। छैटौँ विकेटका लागि उनीहरूले ४२ रनको अविजित साझेदारी गरे। गुल्सनले २० बलमा १ चौका र २ छक्कासहित २८ रन बनाए भने दिपेन्द्रले १४ बलमा १ चौकाको सहयोगमा १४ रनमा अविजित रहे।
जापानको ब्याटिङ:
ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो। जापानका कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको योगदान दिए। इसाम रहमानले ३१ रन बनाए।
नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले पनि समान एक–एक विकेट आफ्नो नाममा लेखाए।




