संवेदनशील अवस्थामा सेनाको आह्वान- ‘शान्ति स्थापनाका लागि प्रतिबद्ध छौँ’

काठमाडौं । देशमा विकसित पछिल्लो संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले शान्ति सुरक्षा कायम गर्न विशेष पहल सुरु गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक अपिल जारी गर्दै वर्तमान आन्तरिक सुरक्षा चुनौतीहरूको वस्तुपरक मूल्यांकन गरी यथाशीघ्र शान्ति बहाल गर्न आवश्यक कदम चालिएको जानकारी दिएको हो ।

निर्देशनालयद्वारा जारी अपिलमा भनिएको छ, ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई गहिरोसँग मूल्यांकन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं ।’ यस घोषणाले सेना देशको स्थिरता र नागरिकको सुरक्षाप्रति प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ ।

वर्तमान अवस्थाको संवेदनशीलतालाई जोड दिँदै सेनाले विभिन्न प्रकारका टिकाटिप्पणी र धारणाहरू सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सम्प्रेषण भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यस्तो समयमा गलत सूचना र भ्रामक प्रचारले थप द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै सेनाले सबै पक्षलाई संयमित हुन अपिल गरेको छ ।

सेनाले आफ्ना आधिकारिक धारणाहरू तथा सूचनाहरू आफ्ना आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत मात्र सार्वजनिक गर्ने गरेको पनि स्पष्ट पारेको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री