काठमाडौं । नेपाली कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको मागले तीव्रता पाएको छ। पार्टीका कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ५० प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेका छन्। विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले कारण खुलाएर माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, जसले गर्दा सभापति शेरबहादुर देउवा पक्षमाथि ठूलो दबाब सिर्जना भएको छ।
स्रोतका अनुसार, देशभरबाट संकलित हस्ताक्षरहरू केन्द्रीकृत गर्ने काम भइरहेको छ। यो अभियानले सभापति देउवानिकट पदाधिकारीहरूलाई नियमित महाधिवेशनको सम्भावनाबारे सोच्न बाध्य पारेको छ। यसअघि देउवा पक्षीय नेताहरू केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने गृहकार्यमा थिए, तर हस्ताक्षर अभियानले उनीहरूको योजनामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको माग सशक्त रूपमा उठेको छ। पार्टी रूपान्तरण नगरी आगामी निर्वाचनमा सफलता पाउन कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। यसै सन्दर्भमा गोरखा जिल्लाबाट ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर बुझाएका छन्। गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले नेतृत्व परिवर्तनको आवश्यकतामा जोड दिँदै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन तत्काल गर्नुपर्ने माग गरेका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूले यो हस्ताक्षर अभियान चलाएका हुन्। यद्यपि, नेता शेखर कोइरालाले विशेष महाधिवेशनको पक्षमा स्पष्ट रूपमा मुख नखोल्दा उनीनिकट प्रतिनिधिहरू भने विभाजित देखिएका छन्। शेखर पक्षका केहीले हस्ताक्षर गरेका छन् भने केहीले गरेका छैनन्। महामन्त्रीद्वय थापा र शर्मा भने मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन्, तर देउवा पक्ष तयार नभए विशेष महाधिवेशनको विकल्पमा जाने मनस्थितिमा छन्।
विशेष महाधिवेशनको हस्ताक्षर अभियानले देउवा पक्षलाई मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने निष्कर्षमा पुर्याएको एक पदाधिकारीले बताए। यदि देउवा पक्ष नियमित महाधिवेशनका लागि तयार नभएमा पार्टी विशेष महाधिवेशनतर्फ अघि बढ्नेछ, किनकि ५० प्रतिशत हस्ताक्षर पुगिसकेको छ।
बिहीबारको पदाधिकारी बैठकमा सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीले मंसिरमा नियमित महाधिवेशनका लागि समय अभाव हुने कुरा उठाएका थिए। पूर्वउपसभापति विमलेन्द्र निधिले भने मंसिरमा महाधिवेशनभन्दा पनि फागुनको चुनावमा पार्टी केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।
असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ। महामन्त्री गगन थापाले वर्तमान केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा नराख्ने स्पष्ट पारिसकेका छन्।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवाले ६० प्रतिशत र नेता शेखर कोइरालाले ४० प्रतिशत मत प्राप्त गरेका थिए। महामन्त्री पदमा भने गगन थापाले ६४ प्रतिशत मत हासिल गरेका थिए। अबको केन्द्रीय समिति बैठक र विशेष महाधिवेशनको मागले नेपाली कांग्रेसको भविष्य कता मोडिन्छ, त्यो हेर्न बाँकी नै छ।




