काठमाडौंमा तिहारका लागि ३२ स्थानमा फूलमाला बजार, स्वदेशी उत्पादनलाई प्राथमिकता

काठमाडौं । यस वर्षको तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले फूलमालाको व्यवस्थित बिक्री वितरणका लागि ३२ वटा विशेष स्थान तोकेको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाले तिहारमा हुने अव्यवस्थित बजारलाई नियन्त्रण गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालेको जानकारी दिएको छ।

महानगरपालिकाद्वारा तोकिएका यी ३२ बिक्री केन्द्रहरूबाट नेपाली किसानले उत्पादन गरेका फूल र मालाहरू मात्रै बिक्री गर्न पाइनेछ। यो पहल विशेषगरी छिमेकी मुलुकबाट आयात हुने फूलमालालाई प्रतिस्थापन गरी नेपाली कृषक र स्थानीय उद्यमीहरूलाई बजार उपलब्ध गराउने लक्ष्यका साथ अघि सारिएको हो।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन यो योजना महत्त्वपूर्ण रहेको बताए। उनले विगतमा झैं यस वर्ष पनि अवैध रूपमा विदेशी फूलमाला भित्र्याइएको वा बिक्री गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएका छन्। महानगरपालिकाले अनुगमनलाई तीव्रता दिने र त्यस्ता कार्यमा संलग्नलाई तत्काल कारबाही गर्ने जनाएको छ। नगर प्रहरी प्रमुख पाण्डेले नेपाली उत्पादनलाई प्राथमिकता दिन र कुनै पनि अवैध गतिविधिबारे महानगर प्रहरीलाई सूचना दिन नागरिकहरूलाई आह्वान गरेका छन्।

बिक्री वितरण केन्द्रहरू:
महानगरले निर्धारण गरेका प्रमुख बिक्री केन्द्रहरूमा नयाँ बानेश्वरको एन.वि. सेन्टर, शंखमूलको बिग मार्ट, नयाँ बानेश्वरको आई प्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तिनकुने चौर, सिफल चौर, चाबहिलको एस पी कम्प्लेक्स, गणेशस्थानको तरकारी बजार, केएल टावर अगाडि र चाबहिल सेन्टर अगाडि रहेका छन्।

त्यसैगरी, स्वयम्भूको धर्म चोक पार्क, कालीमाटीको कालीमाटी बैंक्वेट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो, हाँडीगाउँको वडा ५ अगाडिको डबली र वडा ५ गणेश मन्दिर डबली, सामाखुसीको कोइराला स्मार्ट (वडा २६ सामाखुसी), महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिग मार्ट, चप्पल कारखानाको बिग मार्ट, बालुवाटारको बिग मार्ट, कमलादीको आईटी बिल्डिङ्ग, पुतलीसडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेबल मन्दिर परिसर, सुन्दरबहालको काठमाडौं महल, वडा नम्बर २८ अद्वैतमार्गको वडा कार्यालय बन्ने ठाउँ र न्यूप्लाजा वज्र कम्प्लेक्सको गुड मार्ट पनि बिक्री केन्द्रका रूपमा तोकिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप