काठमाडाै । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा असोज २४ गते लिसारा रिसेप्सनमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त सभाबाट बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आ.व.२०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले स्वीकृत गरेको छ ।
त्यसैगरी सभाबाट आगामी चार वर्षका लागि सञ्चालक समिति पुनर्गठन गरिएको छ । संस्थापक समूहबाट सुदीप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् । सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक समितिको सिफारिस अनुसार एनबीएसएम एण्ड एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सेयरधनीहरूले राखेका प्रश्नहरुकाे उत्तर बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको र आगामी दिनमा दिगो तथा प्रतिफलमुखी सेवा विस्तारमा प्रतिबद्ध रहेको जानकारी दिए ।




