काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको वर्तमान राजनीतिक परिवेशमा, राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूबीच संवादको खडेरी तोड्ने प्रयास स्वरूप सर्वदलीय बैठक आह्वान गरका छन् । आज दिउँसो ४ बजेका लागि तय भएको यस बैठकमा प्रधानमन्त्री सुशीला कार्की लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको हो।
चुनाव नजिकिँदै गर्दा पनि सरकार र राजनीतिक दलहरूबीच अपेक्षित संवाद हुन नसकेको अवस्थामा राष्ट्रपतिको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ । निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नका लागि दलहरूबीच सहमति र सहकार्य अपरिहार्य हुने बुझाइका साथ राष्ट्रपतिले यो कदम चालेका हुन् ।
यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । सो भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण तयार पार्न सुझाव दिनुभएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको र सरकार पनि निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सबै तयारीमा जुटेको जानकारी गराएकी थिइन् ।
राष्ट्रपतिको यो सर्वदलीय बैठकले चुनावी माहोललाई थप घनिभूत बनाउने तथा दलहरूबीचको दूरी घटाएर एक साझा समझदारी निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । बैठकमा मुख्यतया निर्वाचन आचारसंहिताको पालना, सुरक्षा व्यवस्थापन, दलहरूबीचको सौहार्दपूर्ण प्रतिस्पर्धा र समग्र चुनावी प्रक्रियालाई कसरी थप विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने अनुमान गरिएको छ ।




