काठमाडौं । भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत लगायतका राष्ट्रिय सम्पदामा तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन् । गृह मन्त्रालयको निर्देशनपछि दशैंअघि नै उनीहरूलाई रिहा गरिएको हो ।
महानगरीय प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटबाट पक्राउ परेका प्रदर्शनकारीहरूलाई घटनाबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन नआएसम्म धरपकड नगर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो। यसै निर्देशन बमोजिम, पक्राउ परेकाहरूको बयान लिई छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
रिहा भएका अधिकांशले आफूहरू हुलमुलमा परेको र अनजानमा घटनामा मुछिएको जिकिर गरेका छन्। यद्यपि, प्रहरीले उनीहरू सबैको बयान र आवश्यक प्रमाण संकलन गरिसकेको र अनुसन्धान प्रक्रिया यथावत् रहेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्या, हातहतियार लुटपाट र आगजनी जस्ता गम्भीर अपराधमा संलग्नहरू भने अझै हिरासतमा छन्। उनीहरूलाई अनुसन्धान र कानुनी प्रक्रिया मार्फत नै अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ।
पक्राउ परेका व्यक्तिहरूको पहिचान भिडिओ फुटेज, तस्बिर र प्रत्यक्षदर्शीको बयानका आधारमा गरिएको थियो । प्रहरीले हाल हाजिरी जमानीमा रिहा गरिए पनि दोषी ठहर भएमा कसैले पनि उन्मुक्ति नपाउने कुरामा जोड दिएको छ ।




