काठमाडौं । सरकारले बाढी र पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलवार बसेको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले विपद्का कारण ज्यान गुमाएका, विस्थापित भएका तथा घरबार गुमाएका परिवारलाई मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार, मृतकका परिवारले तत्काल २ लाख रुपैयाँ राहत पाउनेछन्। त्यसैगरी, बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि कुल ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। यो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ आवासको संरचना निर्माण गरिसकेपछि प्रदान गरिनेछ।
स्थायी आवास निर्माणका लागि भने थप सहयोगको घोषणा गरिएको छ। हिमालय क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यो निर्णयले घरबार गुमाएका परिवारलाई नयाँ जीवन सुरु गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।
बैठकले सडक तथा अन्य अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ। भट्टले जानकारी दिएअनुसार, सम्बन्धित निकायहरूले आफ्नो सडक, खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्नेछन् र यस कार्यमा केन्द्र सरकारले प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्नेछ।
विपद्पछि महामारीको सम्भावनालाई मध्यनजर गर्दै, स्वास्थ्य मन्त्रालयसँगै प्रदेश र स्थानीय सरकारका स्वास्थ्य संस्थाहरूले संयुक्त रूपमा पहल गरी सतर्कता अपनाउने निर्णय पनि भएको छ ।




