काठमाडौं । नेपाली कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको चर्चाले निकै तीव्रता पाएको छ पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीका लागि महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर गर्न आह्वान गर्दै एक अभियानको औपचारिक सुरुवात गरेका छन् ।
मंगलबार एक भिडियो सन्देशमार्फत शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई यस हस्ताक्षर संकलन प्रक्रियामा सहभागी हुन अपिल गरे। उनले स्पष्ट पार्दै भने, “मैले व्यक्तिगत रूपमा फोन गरेर कसैलाई पनि हस्ताक्षर गर्न भनिसकेको छैन, तर मित्रहरूलाई भनेका छु, हस्ताक्षर गर्नुहोस्!” यस आह्वानले पार्टीभित्र एउटा नयाँ बहसको सुरुवात गरेको छ।
विशेष महाधिवेशनको प्रस्तावमाथि विभिन्न कोणबाट विरोध र प्रश्नहरू उठेका छन्। कतिपयले यसले पार्टीलाई झनै कमजोर बनाउने आशंका व्यक्त गरिरहेका बेला, महामन्त्री शर्माले भने यसको सशक्त खण्डन गरेका छन्। उनले विशेष महाधिवेशनलाई पार्टी सशक्तिकरणको महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै भने, “यसले पार्टीलाई कमजोर बनाउँदैन, बरु यसको परिणामस्वरूप पार्टी अझ बलियो हुनेछ।”
शर्माले महाधिवेशनको प्रक्रियालाई विधिवत् रूपमा अघि बढाइरहेको जानकारी दिँदै २४ असोजभित्र हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेका छन्। प्राप्त हस्ताक्षरसहितका निवेदनहरू आगामी २६ असोजको केन्द्रीय समिति बैठकअघि दर्ता गरिने योजना रहेको उनले बताए।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी २६ असोजदेखि सुरु हुँदैछ। यस बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले नियमित महाधिवेशनको विकल्पमा विशेष महाधिवेशन आयोजना गर्ने र पार्टीको नेतृत्व परिवर्तनको प्रस्ताव राख्ने तयारी गरेका छन्। पार्टीको विधानअनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएपछि विशेष महाधिवेशन आयोजनाको प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ ।




