काठमाडौं । युवा अभियन्ता सुदन गुरुङको नेतृत्वमा रहेको जेन-जी समूहले पूर्वप्रधानमन्त्रीहरूलगायत विभिन्न राजनीतिक नेताहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिन पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो ।
सोही क्रममा समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै नेताहरूलाई ‘जनताको दुश्मन’ भन्दै तत्काल पक्राउ गर्नुपर्ने माग राखेको छ। जेन-जी समूहले ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरूलाई पक्राउ गर्नुपर्ने माग राखेको हो ।
यसका साथै, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक, एमाले नेता महेश बस्नेत र पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई पनि पक्राउको सूचीमा राखिएको छ । मंगलबार दिउँसो माइतीघरमा भेला भएका जेन-जीका कार्यकर्ताहरूले यी नेताहरूको ब्यानर टाँसेर उनीहरूलाई ‘जनताका समस्याको कारक’ भन्दै नाराबाजी गरेका थिए । समूहले विशेषगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेन-जी आन्दोलनमा दमनकारी भूमिका निभाएको आरोप लगाउँदै उनीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।
यस विषयमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेको बताइएको छ । यद्यपि, प्रहरीले भने जेन-जीका प्रतिनिधिहरूलाई प्रधानमन्त्री कार्यालयबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै फर्काएको छ ।
जेन-जी समूहको यो कदमलाई युवाहरूमा बढ्दो राजनीतिक असन्तुष्टि र नेतृत्वप्रति वितृष्णाको अभिव्यक्तिको रूपमा हेरिएको छ । उनीहरूले आफूहरूमाथि भएका दमन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै नयाँ पुस्ताको सशक्त उपस्थितिको सन्देश दिएका छन् । यो घटनाले आगामी दिनमा नेपाली राजनीतिमा युवाहरूको भूमिका र दबाब कस्तो रहन्छ भन्नेबारे थप चासो बढाएको छ ।




