काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा क्षति पुगेका सम्पत्तिहरूको बीमा दाबी भुक्तानी प्रक्रियालाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ । कम्पनीले विषम परिस्थितिमा बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत र संरक्षण प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुसार तीव्र गतिमा दाबी भुक्तानी गरिरहेको हो।
हालसम्म कम्पनीमा दर्ता भएका कुल २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी दाबीहरूको भुक्तानी प्रक्रियालाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले स्पष्ट पारेको छ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सका दाबी विभाग प्रमुख रोज राज लुइटेलले नियामकीय प्रावधानभित्र रही सरल र सहज बीमा दाबी भुक्तानीमा कम्पनीले विशेष जोड दिएको बताए । “बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत र संरक्षण प्रदान गर्नु हाम्रो प्रमुख प्राथमिकता हो,” लुइटेलले भने ।
कम्पनीका अनुसार भुक्तानी कार्य असोज २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सुरु हुनेछ । आकस्मिक रूपमा सिर्जना भएको यस विषम परिस्थितिमा बीमित ग्राहकको सुविधा र राहतका लागि कम्पनीले शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले बाँकी बीमितहरूलाई क्षतिपूर्तिको दाबी भुक्तानीका लागि आवश्यक सम्पूर्ण कागजात पूरा गरी आफ्नो नजिकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई कुनै पनि प्रकारको समस्या झेल्न नपरोस् भन्ने उद्देश्यका साथ सहजीकरण गरिरहेको जनाएको छ ।




