बाँके । गत शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि बाँके जिल्लाका पाँच फरक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले शनिबार साँझ ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडुवा गाउँपालिका वडा नम्बर-६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर-१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर-२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा, तथा नरैनापुर गाउँपालिका वडा नम्बर-५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन र शान्ति कायम गर्न तत्काल कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राष्ट्रिय समाचार समिति (रासस) सँगको संक्षिप्त कुराकानीमा हाल जिल्लाको स्थिति सामान्य रहेको जानकारी दिएका छन्। उनले शनिबार सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रतिनिधि, नागरिक अगुवा र सरोकारवाला निकायहरूसँग छलफल भएको बताए। सो छलफलमा घटनाका दोषीलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्ने, धार्मिक सद्भाव कायम राख्ने, र प्रशासनको स्वीकृतिबिना कुनै पनि प्रकारका जुलुस, सभा, सम्मेलन वा र्याली आयोजना नगर्ने सहमति भएको प्रजिअ जोशीले स्पष्ट पारे।
स्थानीय प्रशासनले यस संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। निषेधाज्ञा जारी गरिएका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ भने स्थिति थप बिग्रन नदिनका लागि आवश्यक सबै उपाय अपनाइएको छ।




