काठमाडौं । विगत दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिराेले देशभर ठूलो मानवीय क्षति पुर्याएको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार, शुक्रबार र शनिबारको वर्षाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । यो विवरण दिउँसो १:३० बजेसम्मको संकलन गरिएको हो ।
प्राप्त जानकारीअनुसार, सबैभन्दा बढी कोशी प्रदेशका जिल्लाहरूमा मानवीय क्षति भएको छ । कोशी प्रदेशमा मात्रै ४६ जनाले ज्यान गुमाएका छन् । यसमध्ये इलाम जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ पहिराेका कारण ३७ जनाको ज्यान गएको छ । उदयपुरमा २ जना, खोटाङमा १ जना र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।
मधेस प्रदेशमा पनि बाढीले क्षति पुर्याएको छ । रौतहट जिल्लामा बाढीमा परेर ३ जनाले ज्यान गुमाएका छन् । यस विपत्तिको समयमा घाइते हुनेको संख्या २० पुगेको छ भने ७ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
देशका विभिन्न भागमा वर्षा अझै जारी रहेकाले थप क्षति हुन सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । सरकारले विपत् प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ ।





