काठमाडौँ । भदौ २३ र २४ गते देशभर चर्चाको शिखरमा पुगेको जेन-जी आन्दोलन असोज २३ (अक्टोबर ९) मा पुनः सक्रिय हुने भनी सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूलाई आन्दोलनसँग प्रत्यक्ष संलग्न प्रमुख अगुवाहरूले खण्डन गरेका छन् । यसले जेन-जी युवाहरूको आगामी भूमिका र आन्दोलनको भविष्यबारे नयाँ बहस सिर्जना गरेको छ।
सामाजिक सञ्जालमा असोज २३ गते पुनः प्रदर्शनको तयारी भइरहेको खबरले कतिपयमा उत्साह जगाए पनि जेन-जी अभियानमा सक्रिय अगुवा युवाहरूले भने अब कुनै पनि आन्दोलनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उनीहरूले असोज २३ गते हुने भनिएको आन्दोलनमा जेन-जी युवाहरूको सहभागिता नहुने दृढताका साथ बताएका छन् ।
जेन-जीका अगुवा भनिएका युजन राजभण्डारी, तनुजा पाण्डे, रक्षा बम, भावना राउतलगायतका व्यक्तिहरूले पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै असोज २३ को भनिएको आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको र हिंसात्मक गतिविधिलाई न त समर्थन गरेको, न भविष्यमा गर्ने प्रतिबद्धता जनाएका छन् । यसले आन्दोलनलाई शान्तिपूर्ण र रचनात्मक दिशामा लैजाने उनीहरूको पूर्ववत् अडानलाई थप पुष्टि गरेको छ ।
स्मरण रहोस्, भदौ २३ गते माइतीघर मण्डलामा प्रदर्शनका लागि प्रशासनसँग अनुमति लिएका पुरुषोत्तम यादव नेतृत्वको समूहले पनि असोज २३ मा कुनै कार्यक्रम नहुने स्पष्ट पारेको छ । यसबाट आन्दोलनको औपचारिक र संगठित रूपमा निरन्तरताको सम्भावना तत्कालका लागि टरेको देखिन्छ ।
यद्यपि, युवाहरूमा देखिएको असन्तुष्टि र परिवर्तनको चाहना यथावत् नै रहेकोले जेन-जी अभियानले भविष्यमा कस्तो रूप लेला भन्ने कौतूहल भने कायम नै छ । अगुवाहरूको स्पष्टीकरणले तत्कालको अन्योल चिरे पनि युवाहरूको आवाजलाई सम्बोधन गर्नुपर्ने आवश्यकता भने झन् टड्कारो बनेको छ ।




