रातको समयमा काठमाडौं आवातजावत नगर्नू : काठमाडौं प्रशासन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज २० गतेसम्म काठमाडौं उपत्यकामा भारी वर्षाको सम्भावना औंल्याएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । वर्षाका कारण बाढी, पहिरो र भू-क्षयजस्ता विपत्जन्य घटना घट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले विशेषगरी रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्वारा जारी एक जरुरी सूचनामा भनिएको छ, ‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।’

सूचनामा असोज २० गतेसम्म आ-आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन तथा अत्यन्त जरुरी नभई लामो दूरीको यात्रा नगर्न पनि आग्रह गरिएको छ । मौसम पूर्वानुमान अनुसार, आजदेखि आगामी तीन दिनसम्म काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको छ। यसबाट विशेषगरी जोखिमयुक्त क्षेत्रहरूमा बाढी, पहिरो र भू-क्षयका घटनाहरू बढ्न सक्ने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले विपद्‌को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न पनि सर्वसाधारणलाई सूचित गरेको छ । सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको र कुनै पनि अप्रिय घटनाबाट बच्नका लागि सबैले सजगता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री