काठमाडौं । युरोपेली मुलुक रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको एक होटलमा सोमबार भएको भीषण आगलागीमा परी २ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
आगलागीमा ज्यान गुमाउनेहरूमा इलामको माई नगरपालिका-७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका-९ की २४ वर्षीया सुस्मिता तामाङ रहेका छन् । दुवै जना रोजगारीको सिलसिलामा रोमानिया पुगेका थिए । सोनी करिब १ वर्षअघि र सुस्मिता ५ महिनाअघि मात्रै । आगलागी भएको होटल ‘डालेमा’ को माथिल्लो तलामा उनीहरू बस्ने कोठा थियो ।
स्थानीय समयअनुसार बिहान ७ बजेतिर ठूलो आवाजसहित सुरु भएको आगलागीले होटलको माथिल्लो तलालाई पूर्ण रूपमा ध्वस्त पारेको थियो । सोही होटलमा ५ वर्षदेखि कार्यरत म्याग्दी बेनीका नारायण विककाअनुसार, प्रहरी र अग्नि नियन्त्रकहरूको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।
आगलागीपछि सोनी र सुस्मिताको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको थियो । ‘२ जनाकै शव पूरै जलेको अवस्थामा थियो । सोनी बहिनीले लगाएको सुनको लकेटले शवको पहिचान भएको हो,’ उनले भने ।
मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकिएकाे छ । आगलागीमा परी इलाम चुलाचुली घर भएकी सुमिना मगर घाइते भएकी छिन् र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार, विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । मृतक सोनी लिम्बूका बुवा धनराज लिम्बू र सुस्मिता तामाङका भाइ सुसान तामाङले शव नेपाल पठाइदिन र आवश्यक सहयोगका लागि रोमानियास्थित नेपाली समाज र जर्मनीको बर्लिनस्थित नेपाली दूतावाससँग हार्दिक अपिल गरेका छन् ।
करिब ३० हजार नेपाली कामदार रहेको युरोपेली मुलुक रोमानियामा हाल नेपाल सरकारको कुनै पनि दूतावास वा कूटनीतिक संयन्त्र नहुँदा यस्ता घटनामा परेका नेपालीहरूलाई सहयोग पुर्याउन कठिनाइ हुने गरेको छ ।




