राष्ट्रपति पौडेलले दिए विजयादशमीको शुभकामना- राष्ट्रिय मेलमिलाप र सुशासनको कामना

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

 उनले सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि कामना गरे । बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा रहेको यस महान् चाडको महत्त्वमाथि प्रकाश पारे । उनले मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गर्दै यसले पारिवारिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन मद्दत पुग्ने बताए ।

राष्ट्रपति पौडेलले यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेका छन् ।  उनलेमुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै दशैंले राष्ट्रिय एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । ‘यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ सन्देशमा भनिएको छ ।

उनले चाडपर्वले नेपाली समाजमा आपसी भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरे । राष्ट्रपति पौडेलको यो शुभकामना सन्देशले विजया दशमीको अवसरमा राष्ट्रभर सकारात्मक ऊर्जा र एकताको सन्देश प्रवाह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री