काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशका विभिन्न भागमा ठूलो भौतिक क्षति भएपछि सरकारले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहयोगको अपिल गरेको छ । आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका महत्वपूर्ण सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो, जसले गर्दा धेरै कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।
यस बृहत् क्षतिको पुनर्निर्माणका लागि सरकारले यही असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकबाट ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ जारी गरेको थियो। सोही आदेशअनुसार पुनर्निर्माणका लागि ‘पुनर्निर्माण कोष’ समेत खडा गरिएको छ। अर्थ मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई यस कोषमा सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।
राजदूतावास तथा नियोगहरूद्वारा अपिल
अर्थ मन्त्रालयको अनुरोधपछि विदेशस्थित विभिन्न नेपाली राजदूतावास तथा नियोगहरूले सक्रिय रूपमा सहयोगको अपिल गर्न थालेका छन्। कतारस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरूलाई राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुन आग्रह गरेको छ। दूतावासले जेनजी आन्दोलनबाट पुगेको क्षति, भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि कोष स्थापना गरिएको स्पष्ट पारेको छ।
त्यस्तै, कुवेतस्थित नेपाली राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत र इजरायलस्थित नेपाली राजदूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ। सबै नियोगहरूले मातृभूमिको पुनर्निर्माणमा आफ्नो तर्फबाट अमूल्य योगदान गर्न जोड दिएका छन्।
एनआरएनएको ‘नेपाल पुनर्निर्माण अभियान’
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि यस अभियानमा सक्रिय सहभागिता जनाउने घोषणा गरेको छ। एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै मातृभूमि प्रतिको दायित्व र कर्तव्य स्मरण गराउँदै कोषमा सहयोग गर्न अनुरोध गरेका छन्। उनले विगतमा भूकम्प, बाढी र अन्य संकटका बेला एनआरएनएले पुर्याएको सहयोगको चर्चा गर्दै देशलाई अहिले संकट परेका बेला पनि सहयोग गर्न आह्वान गरेका हुन्।
एनआरएनएले ‘एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न सबै गैरआवासीय नेपाली समुदायलाई अनुरोध गरेको छ। प्रत्येक देशमा रहेका एनआरएनए समुदायलाई सहयोग गरी यस मिसनलाई सफल बनाउन समेत आग्रह गरिएको छ ।




