काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा अक्टोबर ९ (असोज २२ गते) मा राष्ट्रव्यापी आन्दोलन तथा प्रदर्शन हुने भनी फैलिएका हल्लाहरू निराधार रहेको जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले प्रस्ट पारेका छन् । ढुङ्गानाले एक भिडियो सन्देश जारी गर्दै जेन-जीको तर्फबाट उक्त मितिमा कुनै पनि प्रदर्शनको कार्यक्रम नरहेको जानकारी दिएका हुन् ।
टिकटकलगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूमा अक्टोबर ९ को प्रदर्शनबारे व्यापक प्रचारबाजी भएपछि यसले जनमानसमा अन्योल सिर्जना गरेको थियो। यही सन्दर्भमा ढुङ्गानाले आन्दोलनकारी र आम नागरिक दुवैलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
आफ्नो भिडियो सन्देशमा ढुङ्गानाले भनेका छन्, “अक्टोबर ९ मा जेन-जीको तर्फबाट कुनै प्रदर्शनको कार्यक्रम छैन। कुनै पनि खालको हिंसा, तोडफोड वा एजेन्डाबिना गरिने प्रदर्शनमा हाम्रो संलग्नता रहने छैन। हामी के गर्ने, किन गर्ने भन्ने स्पष्ट योजनाबिना कुनै पनि प्रदर्शनमा सहभागी हुँदैनौँ।” उनले थप स्पष्ट पार्दै भने, “आवश्यक परेको खण्डमा हामी शान्तिपूर्ण प्रदर्शन गर्नेछौँ, तर हिंसात्मक गतिविधिमा हाम्रो समर्थन रहने छैन।”
ढुङ्गानाले गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा अपेक्षाभन्दा बढी धनजनको क्षति भएको स्मरण गर्दै भविष्यमा गरिने प्रदर्शनहरू थप संयमित र योजनाबद्ध हुनुपर्नेमा जोड दिए। उनले प्रतीकात्मक रूपमा भने, “हामी मुसो मार्न जाँदा बाघ मारेर ल्यायौँ, अब बाघ उचाल्न सकिँदैन जङ्गलबाट।” उनको यो भनाइले आन्दोलनले अनपेक्षित रूपमा ठूलो रूप लिएको र त्यसलाई सम्हाल्न गाह्रो भएको आशय व्यक्त गर्दछ।
जेन-जी आन्दोलनले युवा पुस्ताका आवाजलाई बुलन्द गर्दै आएको छ, तर कुनै पनि हिंसात्मक वा अप्रत्याशित गतिविधिमा आफ्नो संलग्नता नरहेको ढुङ्गानाको स्पष्टीकरणले आन्दोलनलाई थप जिम्मेवार र मर्यादित बनाउने सन्देश दिएको छ।




