साथीहरूले मलाई प्रयोग गरे, यो सरासर गलत हो : रक्षा बम

काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पारेको जेनजी युवा पुस्ताले सरकारसँग बृहत् सम्झौताका लागि औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको रोहबरमा गरिने भनिएको यस सम्झौताले मुलुकको आगामी दिशा तय गर्न सक्ने आकलन गरिएको छ ।

नवगठित वार्ता टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर रहेका छन्। यद्यपि, टोलीमा नाम उल्लेख गरिएकी रक्षा बमले भने आफ्नो संलग्नता अस्वीकार गरेकी छन् ।

यो वार्ता टोलीलाई आन्दोलनरत जेनजी पक्षको प्रतिनिधित्व गर्दै राष्ट्रपतिसमक्ष सम्झौतापत्र पेस गर्ने म्यान्डेट दिइएको छ । सम्झौतामा उल्लेख हुने एजेन्डाहरूको विषयमा विस्तृत गृहकार्य गरी दस्तावेज तयार पार्ने जिम्मेवारी पनि टोलीले पाएको छ। जेनजी युवा पुस्ताले गत भदौ २३ र २४ गते गरेको आन्दोलन र प्रदर्शनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेको थियो ।

त्यसपश्चात् राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै फागुन २१ गते आम निर्वाचन घोषणा गरेका थिए । यति ठूलो राजनीतिक उथलपुथल भए पनि आन्दोलनरत पक्ष र सरकारबीच कुनै औपचारिक सम्झौताको दस्तावेज नभएकाले त्यसको आवश्यकता महसुस गरी यो वार्ता टोली गठन गरिएको हो ।

रक्षा बमको असहमति
वार्ता टोलीमा आफ्नो नाम उल्लेख गरिएपछि रक्षा बमले आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले आफू लोकतन्त्रको पक्षमा रहेको र सामूहिक माग लिएर सरकारसँग छलफलमा जानु लोकतान्त्रिक अधिकार भएको बताएकी छन् । तर, आफूलाई कुनै जानकारी नै नदिई वार्ता टोलीको सदस्यका रूपमा आफ्नो नाम राखेर ‘साथीहरूले गलत गरेको’ उनको भनाइ छ । बमले फेसबुकमा लेखेकी छन्, ‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई जसरी एकतर्फी ढंगले राखेर सार्वजनिक गर्नुभएको छ, त्यो नितान्त गलत गर्नुभएको छ ।’

टोली गठनको प्रक्रिया र उद्देश्यबारे आफू अनभिज्ञ रहेको बताउँदै बमले माइन्युटमा भएका कुनै पनि बुँदा आफूले नपढेको जानकारी गराएकी छन् । ‘हरेक बुँदामा पढ्दैनपढी र छलफल नगरी म ऐक्यबद्धता जनाउन नसक्ने कुरामा प्रष्ट छु,’ उनले भनेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री