पूर्वप्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न आयोगको सिफारिस

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत पाँच उच्च पदस्थ अधिकारीहरूको राहदानी रोक्का गर्दै उनीहरूलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ । जेन-जी आन्दोलनको दमनबारे छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

राहदानी रोक्का गरिएकाहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन् ।

गत भदौ २३ गतेको जेन-जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरे पनि गृह मन्त्रालयले ‘जसरी पनि भीडलाई संघीय संसद भवनतर्फ जानबाट रोक्नु’ भन्ने निर्देशन दिएको थियो । सोही निर्देशनपश्चात् काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउने आदेश दिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सरकारको यो कदमलाई जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछिका घटनाहरूको छानबिनमा थप गम्भीरताका साथ अगाडि बढेको संकेतका रूपमा हेरिएको छ । यस निर्णयले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री