काठमाडौं । विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा “हाम्रो पात्रो रेमिट” पुनः सुरु गरेको छ । अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।
विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ ।
दसैंको शुभ अवसरमा, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन् ।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेती भन्छन्, “हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ ।अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो ।”
प्रयोगकर्ताले पैसा पठाउनु अघि नै थाहा पाउनेछन् कि प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन्, जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउँछ । रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ र नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिन्छ ।
हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यसमा प्रयोगकर्ताको जानकारी र रकमको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको विज्ञप्तिमा उल्लेख छ ।




