काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली समुदायलाई त्यहाँको कानुन र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास, अबुधाबीले विशेष आग्रह गरेको छ । पछिल्लो समय यूएईमा केही नेपालीहरू विभिन्न गैरकानुनी गतिविधिहरूमा संलग्न भई समस्यामा परेको भन्दै दूतावासले मंगलबार ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गरी सबैलाई सचेत गराएको हो ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधैं इमान्दार, कर्तव्यनिष्ठ रही आफू बसोबास गर्दै आएको मुलुकको यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ ।’
दूतावासका अनुसार, विगत केही समयदेखि यूएईमा रहेका कतिपय नेपालीहरू मादक पदार्थको सेवन तथा झैझगडा, बैंकिङ कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियमको उल्लंघन, ट्राफिक नियमको उल्लंघन र फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त भइरहेको छ र यस्ता घटनाको संख्या बढ्दै गइरहेको छ ।
‘यी सबै विषयहरू यूएईको कानुन तथा नियमअनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरूमा सचेत हुन तथा विशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ,’ सूचनामा थप भनिएको छ ।
दूतावासले पालना गर्न आग्रह गरेका मुख्य बुँदाहरू:-
- यूएईको कानुनको पालना: यूएईको सबै नियम, कानुन र मूल्य मान्यताहरूको पूर्ण पालना गर्नुपर्नेछ ।
- मादक पदार्थ सेवनमा सावधानी: सार्वजनिक स्थानमा मादक पदार्थ सेवन र झैझगडाबाट टाढा रहनुपर्नेछ ।
- बैंकिङ कसुर: कसैले पनि व्यक्तिगत ऋण वा कसुरमा नफस्न।
- ट्राफिक नियमको पालना: ओभर स्पिडिङ, सिट बेल्ट नलगाउने र ट्राफिक सिग्नलको उल्लंघन नगर्न ।
- इमिरेट्स आईडीको सदुपयोग: इमिरेट्स आईडीको दुरुपयोग नगर्न ।
- कार्य अनुमति र कम्पनीको नियम: काम गर्ने अनुमतिअनुसार मात्र काम गर्न र कम्पनीको नियम पालन गर्न ।
- राहदानी र परिचयपत्र: राहदानी (पासपोर्ट), इमिरेट्स परिचय पत्र (इमिरेट्स ID) र फोनको सिम कार्ड कसैलाई पनि नदिन ।
- सामाजिक सञ्जालको प्रयोग: Facebook, TikTok, Instagram जस्ता सामाजिक सञ्जालहरू व्यक्तिगत चारित्रिक हत्या गर्ने तथा सामाजिक सद्भाव खल्बल्याउने किसिमले प्रयोग नगर्न ।
- आफ्नो देशको चाडपर्व: धर्म संस्कृति अनुरूप स्थानीय कानुनको पालना गर्दै मनाउन ।
- नेपाली समुदायिक कार्यमा सहभागिता: नेपाली समुदायबीच एकता र समझदारीका लागि सामाजिक कार्यहरूमा संलग्न हुन ।





