काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनआन्दोलनका क्रममा नक्खु कारागारमा भएको घटनालाई लिएर आफूमाथि निराधार आरोप लगाइएको भन्दै यसबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।
मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाले कारागारमा आगजनी गर्न नेतृत्व गरेको भनी आफूमाथि लागेको आरोप ‘भ्रामक’ र ‘भिडियो क्लिप जोडेर’ बनाइएको दाबी गरे । प्रवक्ता झाका अनुसार, सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा आफूले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेको दृश्यलाई तोडमोड गरी गलत प्रचार गरिएको छ । ‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जानु मेरो धर्म होइन ?’ उनले प्रश्न गरे ।
झाका अनुसार, घटनाका बेला पार्टी सभापति रवि लामिछाने पनि घटनास्थलबाट करिब २ मिटरको दूरीमा रहेकाले सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगायो भन्ने आरोप लाग्न सक्ने डरले पनि आफू आगलागी नियन्त्रणका लागि अग्रसर भएको बताए । घटनाको भिडियोमा एक रातो टिसर्ट लगाएका व्यक्तिले आफूलाई अगाडि नजान भनेपछि आफू पछाडि हटेको पनि झाले स्पष्ट पारे । उनले यस विषयमा कुनै पनि प्रकारको छानबिनका लागि आफू तयार रहेको बताए । ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस्,’ उनले भने ।
प्रवक्ता झाले भिडियोहरू संकलन गरी जापानमा बस्ने एक व्यक्तिलाई प्रयोग गरेर भिडियोहरू अपलोड गर्न लगाइएको आरोपसमेत लगाएका छन् ।




