नख्खु कारागारबाट बारम्बार फोन आएपछि रविलाई लिन गयौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट बाहिरिएको घटनालाई लिएर उठेका प्रश्नहरूको जवाफमा पार्टीले स्पष्टीकरण दिएको छ । मंगलबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह-प्रवक्ता प्रतिभा रावलले सञ्चारकर्मीहरूसमक्ष लामिछानेको रिहाइको परिस्थितिबारे विस्तृत जानकारी गराएकी हुन् ।

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका लामिछानेलाई भदौ २३ र २४ गते जेनजी आन्दोलनको मौका छोपी पार्टीका नेताहरूले षड्यन्त्रपूर्वक बाहिर निकालेको आरोप लागेको थियो । यसका साथै, लामिछानेकै कारण अन्य कैदीहरू पनि कारागारबाट निस्किएको भन्दै चौतर्फी आलोचना भइरहेको सन्दर्भमा रास्वपाले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

सह-प्रवक्ता रावलका अनुसार, भदौ २४ गतेको घटना अतिरञ्जित गरिएका कतिपय कुराहरूभन्दा फरक रहेको छ । उनले भनिन्, ‘भदौ २४ गते सभापति रवि कसरी कारागारबाट निस्किए भन्ने प्रश्न उठेका छन् । त्यसमा कति कुराहरू अतिरञ्जित पनि छन् । त्यो दिन कारागार प्रशासनबाट उहाँको सुरक्षाका लागि पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्‍यो भनेर पटक-पटक भनियो । एक पटक एक जनालाई होइन । दशौँ पटक दशौँ मानिसलाई फोन आएको छ । त्यसपछि उहाँ निस्किनुपर्ने अवस्था आएको हो ।’

रावलले कारागार प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै लामिछानेलाई सुरक्षित स्थानमा सार्न वा परिवार वा पार्टीका जिम्मेवार व्यक्तिलाई जिम्मा लगाउन आग्रह गरेको दाबी गरिन् । जेनजी आन्दोलनका कारण कारागारभित्र र बाहिरको वातावरण तनावपूर्ण बनेको र त्यसले लामिछानेको सुरक्षामा गम्भीर चुनौती खडा गरेको पार्टीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री