सवारीसाधनको व्यापार बढाउन ऋण नीति फेरबदल गरियोस् : नाडा अध्यक्ष चौधरी

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले सवारीसाधनको बिक्री बढाउनका लागि तत्काल ऋण नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले विशेषगरी चाडपर्वहरूमा हुने गाडीको व्यापारलाई लक्षित गर्दै राष्ट्र बैंकको ‘लोन टु भ्यालु रेसियो’को व्यवस्थामा फेरबदल गर्न माग गरेका हुन् । 

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक कार्यक्रममा बोल्दै चौधरीले राजश्व संकलनको चुनौती सम्बोधन गर्न यो परिवर्तन आवश्यक रहेको औंल्याए । हाल राष्ट्र बैंकले गाडी खरिदमा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था छ । यसअघि विद्युतीय गाडीका लागि ८० प्रतिशत र पेट्रोल/डिजेलबाट चल्ने गाडीका लागि ५० प्रतिशत ऋणको व्यवस्था थियो। अटो व्यवसायीहरूले यो सीमा ८० प्रतिशतसम्म पुर्याउन माग गर्दै आएका छन् ।

चौधरीले भने, ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठूलो चुनौती राजश्व संकलन नै देख्छु । अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको थियो । दसैंको समयमा कुल अटो बजारको ६० प्रतिशत बिक्री हुने गरेकोमा आन्दोलनले घट्दा राजश्व पनि घट्छ । गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छन् । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनुपर्नेछ ।’

अध्यक्ष चौधरीले नेपालमा विद्युतीय गाडी (ईभी) को संख्या बढिरहेको बताए । उनले चार्जिङ स्टेशन राख्नका लागि नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराउनुपर्ने माग गरे । उनले आन्दोलनका कारण अटो हब रहेको थापाथली पूर्णरुपमा क्षतिग्रस्त भएको र उत्तरी नाकाहरू केरुङ तथा तातोपानीबाट गाडी ल्याउन नसकिने अवस्था रहेको जानकारी दिए ।

चौधरीका अनुसार नेपालमा दुईपांग्रे र चारपांग्रे दुवै सवारीसाधनका अटो उद्योगमा लगानी भइरहेको छ । उनले नेपालमा ब्याट्री, टायर, र केही स्पेयर पार्ट्स समेत उत्पादन हुन थालेको बताए । एसेम्बल उद्योगले केही रोजगारी सिर्जना गरेको उल्लेख गर्दै उनले सरकारसँग नेपालमै उत्पादन हुने ब्याट्री, टायर लगायतका उद्योगलाई एसेम्बल उद्योगसँग जोड्ने नीति बनाउन आग्रह गरे ।

कार्यक्रममा नाडा अध्यक्ष चौधरीले हालैको आन्दोलनले अटो क्षेत्रमा पारेको नकारात्मक असरबारे प्रकाश पारे । विशेषगरी थापाथलीस्थित अटो हबमा भएको क्षति र आयातमा देखिएको अवरोधले यस क्षेत्रलाई थप प्रभावित बनाएको उनको भनाइ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री