कटुन्जेमा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ कटुन्जेस्थित नगरपालिका कार्यालय नजिकै गएराति भएको झडपले उग्र रूप लिँदा प्रहरीमाथि नै आक्रमण भएको छ । झडप नियन्त्रण गर्न पुगेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐरमाथि झगडिया समूहले हातपात गरेको हो ।

हातपातबाट दुवैजना घाइते भएका छन् । राति करिब ९ बजेतिर झगडा भइरहेको सूचना पाएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए । प्रहरी प्रभाग कटुन्जेबाट तत्कालै प्रनानि बनमाला र जवान ऐरको टोली घटनास्थलमा पुगेको थियो । तर, झगडा गरिरहेका व्यक्तिहरूको समूहले प्रहरीमाथि नै जाइलागेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीमाथि आक्रमण भए पनि एकजना झगडियालाई घटनास्थलमै पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ नगरपालिका घर भई हाल सूर्यविनायकमा बस्दै आएका ३२ वर्षीय अर्जुन तामाङ रहेका छन् । घटनाको थप अनुसन्धान र फरार आरोपितहरूलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले तत्काल थप फौज परिचालन गरेको थियो । परिचालन गरिएको टोलीले घटनास्थल वरपरबाट थप दुई जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका तीनैजनामाथि हाल विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणबाट सामान्य घाइते भएका प्रनानि बनमाला र जवान ऐरलाई सूर्यविनायक नगर अस्पतालमा उपचार गरिएको थियो । पछिल्लो समय जेनजी प्रदर्शनपश्चात् अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमणका घटनाहरू बढेको बताइन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप