प्रेस काउन्सिल नेपालले मनायो ५६ औँ वार्षिकोत्सव

काठमाडौं । प्रेस काउन्सिल नेपालले सोमबार ५६ औँ वार्षिकोत्सव समारोहका मनाएको छ । देशमा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै यस वर्ष अन्य भब्य कार्यक्रमहरु स्थगन गरी काउन्सिलले वार्षिक उत्सव सम्पन्न गरेको हो ।

वार्षिकोत्सवका अवसरमा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अङ्ग्रेजी प्रकाशन ‘मिडिया जर्नल’ सार्वजनिक गरियो । यद्यपि, अघिल्ला वर्षहरूमा राष्ट्रपति कार्यालयमा भव्य समारोहका साथ हुँदै आएका विशेष कार्यक्रम र पुरस्कार वितरण समारोह यस पटकलाई स्थगन गरिएको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिए । 

मुख्य अधिकृत भुसालले काउन्सिलको वार्षिक प्रगतिको सङ्क्षिप्त विवरण प्रस्तुत गर्दै आगामी कार्यभारबारे प्रकाश पारे । उनले हालैको ‘जेन्जी आन्दोलन’ले सञ्चार माध्यम र पत्रकारमा पारेको प्रभाव, पत्रकार र मिडियामाथि पटकपटक हुने आक्रमण लगायतका विषयमा विशेष अध्ययन अनुगमन गर्ने योजना प्रस्तुत गरे ।

भुसालले काउन्सिलका पूर्वाधार र विद्यमान प्रणालीहरूमा सुधार गरी ‘डिजिटल काउन्सिल’ बनाउने, काउन्सिल ऐन, सम्बद्ध नियम, विनियम, कार्यविधि निर्देशिका, आचारसंहिता संशोधन तथा परिमार्जन गर्ने र सङ्घीय संरचनाअनुसार स्थानीय तहसम्म सञ्चार माध्यम एवं पत्रकारको अध्ययन अनुगमन गर्ने कार्य अबको प्राथमिकतामा रहेको बताए ।

कार्यक्रममा काउन्सिलका सदस्यहरू शन्तराम बिडारी, नकुल अर्याल, निमा काफ्ले, केशवशरण लामिछाने, पदम राज जोशी, बालकृष्ण अधिकारी, विजयराज अधिकारी, नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत काउन्सिल कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप