काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हालैको जेनजी आन्दोलनले समग्र अर्थतन्त्र र व्यवसायीहरूमा त्रासको वातावरण सिर्जना गरेको भन्दै सरकारले तत्काल शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै मल्लले अहिलेको प्रमुख चुनौती शान्ति सुरक्षा रहेको बताए । ‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेछ,’ मल्लले भने ।
उनले जेनजी आन्दोलनपछि युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु पर्ने र पठनपाठनको व्यवस्था सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । ‘देशमा शान्ति व्यवस्था छ, डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ । जेनजी अवस्थाका युवाहरु स्वदेशमा काम नपाएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुपर्यो,’ उनले थपे ।
मल्लले वार्षिक करिब ३ लाख जनसंख्या विदेशिने गरेको तथ्यांक प्रस्तुत गर्दै अब सरकारले स्टार्टअपलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । सरकारी कार्यालयहरूमा व्याप्त ढिलासुस्ती र झन्झटिलो प्रक्रियामा सुधार ल्याउनुपर्नेमा पनि उनले जोड दिए । आईटी र एआईको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै गाउँको दूरदराजसम्म आईटी कार्यक्रमहरू सञ्चालन गर्न सकेमा त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
पर्यटन क्षेत्रमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै मल्लले नेपाल सुरक्षित छ भनी विश्वव्यापी प्रचार गर्न सरकारलाई आग्रह गरे । ‘सबैभन्दा ठूलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ । हामीसँग खर्बौं रेमिट्यान्स भित्रिएको छ। त्यसको अनावश्यक रुपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने ।
मल्लले निजी क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको जिकिर गर्दै अर्थतन्त्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको औंल्याए ।




