कृषि मन्त्री परियारद्वारा पदभार ग्रहण, दुग्ध र उखु किसानका समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आज पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण समारोहमा मन्त्रालयका उच्च अधिकारीहरूले उनलाई स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै मन्त्री परियारले मुलुकमा आसन्न फागुन २१ गतेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु सरकारको मुख्य कार्यभार रहेको बताए। उनले यस कार्यमा सबै पक्षको सहयोगको अपेक्षा गर्दै सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री परियारले दुग्ध र उखु किसानका लामो समयदेखिका समस्याहरूलाई समाधान गर्ने कुरा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताए। उनले भने, “किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ। सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ, त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ। त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ।”

यसका साथै, मन्त्री परियारले शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने आफ्नो कार्यभार रहेको पनि उल्लेख गरे। उनले मन्त्रालयका सचिवहरूसँगको सल्लाहमा मन्त्रालयको कार्यभारलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए।

मल आयातमा हुने अवरोधलाई अध्ययन गरी त्यसको दीर्घकालीन समाधान खोज्न आफ्नो प्रयास रहने मन्त्री परियारको भनाइ छ। उनले कृषि क्षेत्रको विकास र किसानहरूको उत्थानका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री