जेनजी आन्दोलनको मार: बीमित क्षति २२ अर्ब नाघ्यो, ओरिएन्टलमा सर्वाधिक दाबी

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण नेपालका बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले असोज ५ गतेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल २ हजार ४७८ वटा दाबी परेका छन् ।

यस आन्दोलनले बीमा क्षेत्रमा ठूलो प्रभाव पारेको छ, जसमा ओरिएन्टल इन्स्योरेन्समा सर्वाधिक २२ करोड ९८ लाख रुपैयाँ बराबरका ७३ वटा दाबी परेका छन्। दोस्रो धेरै दाबी पर्ने कम्पनीका रूपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ, जहाँ ५ अर्ब ८ करोड २८ लाख रुपैयाँका २७९ वटा दाबी दर्ता भएका छन्। तेस्रो स्थानमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ, जसले २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँका १७० वटा दाबी सामना गरिरहेको छ।

अन्य प्रमुख निर्जीवन बीमा कम्पनीहरूमा पनि करोडौंको दाबी परेको छ। शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड ८३ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँको बीमा दाबी परेको छ।

लघु निर्जीवन बीमा कम्पनीहरूमा पनि जेनजी आन्दोलनको प्रभाव देखिएको छ। प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ करोड रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जानकारी दिएको छ।

यस घटनाले सार्वजनिक आन्दोलनका क्रममा हुने भौतिक क्षतिको आर्थिक भार कति विशाल हुन सक्छ भन्ने कुरालाई उजागर गरेको छ, साथै बीमा कम्पनीहरूलाई यस्ता अप्रत्याशित घटनाहरूको सामना गर्न थप तयारी गर्नुपर्ने चुनौती थपिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री