जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० केन्द्रीय र जिल्ला कार्यालय ध्वस्त

काठमाडौं । ‘जेनजी आन्दोलन’ का क्रममा नेपाली कांग्रेसका केन्द्रीयदेखि जिल्लासम्मका कार्यालयहरूमा भएको तोडफोड र आगजनीले पार्टीलाई करिब १ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । पार्टीको केन्द्रीय कार्यालय, सातवटै प्रदेश कार्यालय, ४० जिल्ला कार्यालय र दुई पालिका कार्यालयमा व्यापक क्षति पुगेको कांग्रेसले जानकारी दिएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको बैठकले क्षतिको पूर्ण विवरण पठाउन प्रदेश समितिहरूलाई निर्देशन दिएको छ। यस घटनाले पार्टीका ऐतिहासिक दस्तावेज, पुस्तकालय र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

कांग्रेस नेता रामहरि खतिवडाका अनुसार सानेपास्थित केन्द्रीय कार्यालय भवन, बैठक हल, पुस्तकालय र क्यान्टिनसहितका संरचना पूर्ण रूपमा भत्किएका छन्। करिब ३२ हजार पुस्तक र ऐतिहासिक दस्तावेज नष्ट भएको प्रारम्भिक रिपोर्ट छ।

प्रदेशगत क्षतिको अनुमान:

  • लुम्बिनी: १०-१२ करोड (१० जिल्ला प्रभावित)

  • बागमती: ३८ करोड (केन्द्रीय कार्यालय २० करोड, प्रदेश कार्यालय ३ करोड, जिल्ला कार्यालय १५ करोड)

  • कोशी: १० करोड

  • मधेश: १५ करोडभन्दा माथि

  • गण्डकी: १० करोडभन्दा माथि

  • कर्णाली: ३ करोड

  • सुदूरपश्चिम: ८० लाख

महामन्त्री विश्वप्रकाश शर्माले सुरक्षा र शान्तिपूर्ण राजनीतिक वातावरण सुनिश्चित गर्दै जनताको मनोबल उच्च राख्न कांग्रेस प्रयासरत रहेको बताएका छन् । पार्टीले प्रभावित प्रदेश र जिल्ला कार्यालयहरूमा अस्थायी कार्यालय स्थापना गर्ने योजना बनाएको छ भने भत्किएका संरचनाको पुनर्निर्माणका लागि कार्यकर्ताहरूलाई आह्वान गरिएको छ । यस क्षतिले कांग्रेसको संगठनात्मक र ऐतिहासिक विरासतमा गम्भीर असर पुर्‍याएको छ। 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री