संविधान दिवस २०८२: राष्ट्रिय एकता र समृद्धिको संकल्प

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि राष्ट्रिय उत्साहका साथ मनाइँदैछ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको नेपालको संविधान २०७२ को घोषणा भएको यस ऐतिहासिक दिनलाई विविध कार्यक्रमका साथ स्मरण गरिँदैछ ।

यस वर्षको मूल समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा भव्यताका साथ आयोजना हुनेछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हालको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकी प्रदर्शनलगायतका केही कार्यक्रमहरू भने स्थगन गरिएका छन् ।

नेपाली जनताको दशकौं लामो संघर्ष, त्याग र बलिदानको प्रतिफलस्वरूप संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभा निर्वाचनपश्चात् गठित संविधानसभाले अथक मेहनत र गहन छलफलपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । यस संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।

२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यस संविधानलाई जारी भएको ऐतिहासिक घोषणा गरेका थिए । यो घोषणासँगै नेपाली जनताले आफ्नो संविधान आफैंले लेख्ने ७० वर्षभन्दा लामो सपना साकार भएको थियो ।

संविधान दिवस केवल एक सरकारी बिदा मात्र नभई नेपाली जनताको सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासनप्रतिको अटुट निष्ठाको प्रतीक हो। यस दिनले हामीलाई संविधान निर्माणमा भएका अथक प्रयासहरू, सहमति र समझदारीका क्षणहरू, र राष्ट्र निर्माणको साझा लक्ष्यलाई स्मरण गराउँछ । यो दिवसले हामीलाई संविधानको भावना अनुरूप राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपाल निर्माणको लागि निरन्तर प्रयत्नशील रहन प्रेरित गर्दछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री