काठमाडौँ । देशभर उत्पन्न विषम परिस्थितिमा नेपाल पत्रकार महासंघले पत्रकार र सञ्चार संस्थाहरूलाई उच्च जिम्मेवारीका साथ काम गर्न अपिल गरेको छ। महासंघले प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न विशेष जोड दिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै वर्तमान संवेदनशील अवस्थामा पत्रकारिताको धर्म निर्वाह गरिरहेका सम्पूर्ण पत्रकारहरूको प्रशंसा गरेका छन्। उनले पत्रकारहरूलाई निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग आग्रह पनि गरेका छन्। जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमहरूको दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र यसका लागि आवश्यक समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलनका लागि खटिने पत्रकारहरूलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। महासंघले पत्रकारहरूलाई आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य बोक्न, प्रेस ज्याकेट लगाउन, सम्भव भएसम्म समूहमा हिँड्न र व्यक्तिगत सुरक्षालाई उच्च महत्त्व दिन अनुरोध गरेको छ।
महासंघले पत्रकार तथा सञ्चार माध्यममाथि कुनै पनि प्रकारको धम्की, त्रास, आक्रमण वा अवरोध भएमा तत्काल महासंघलाई जानकारी गराउन पनि अपिल गरेको छ। यसै गरी, सञ्चारगृहहरूलाई पनि आफ्ना पत्रकारहरूको सुरक्षामा विशेष ध्यान दिन र उनीहरूको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन अनुरोध गरिएको छ।
यस विषम परिस्थितिमा जिम्मेवार पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गर्ने र लोकतन्त्रको पहरेदारका रूपमा आफ्नो भूमिका निर्वाह गर्ने पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताका लागि महासंघ प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।




