काठमाडौँ । देश संकटपूर्ण अवस्थामा गुज्रिरहेका बेला नेपाल प्रेस युनियनले वर्तमान संसद् र संविधानकै परिधिभित्र रहेर तत्काल निकास खोज्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ। युनियनले एक विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको सम्मान गर्न सम्पूर्ण पक्षलाई अपिल गरेको छ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा तथा सार्वजनिक र निजी सम्पत्तिको व्यापक तोडफोडले देश गम्भीर संकटमा धकेलिएको छ। यस्तो संवेदनशील घडीमा सम्पूर्ण देशवासीलाई संयमित र संवेदनशील भई देशको रक्षाका लागि सक्रिय भूमिका खेल्न आग्रह गरिन्छ।”
नेपाली सेनाले सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी आफैँले लिने घोषणा गरेपछि सिर्जित नयाँ परिवेशलाई उचित ढंगले व्यवस्थापन गर्नुको विकल्प नरहेको युनियनले औँल्याएको छ। संक्रमणकाल लम्ब्याउने वा यसको कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सबै पक्षलाई सचेत रहन युनियनले आग्रह गरेको छ।
अध्यक्ष लम्सालले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गर्दै संवादमार्फत तत्काल निकास निकाल्न र लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार हुन अपिल गरेका छन्। “लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन,” विज्ञप्तिमा जोड दिइएको छ।
युनियनले यस्तो संवेदनशील अवस्थामा नागरिकको सत्य र तथ्यपूर्ण सूचना प्राप्त गर्ने अधिकारलाई विशेष जोड दिएको छ। सही सूचनाको अभावमा अफवाह फैलिने र थप समस्या उत्पन्न हुने जोखिमप्रति सचेत रहँदै पत्रकारहरूलाई जिम्मेवार भई काम गर्न आग्रह गरिएको छ। साथै, सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अनुरोध गरिएको छ।
यस जटिल परिस्थितिमा लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक सर्वोच्चतालाई कायम राख्दै राष्ट्रिय एकताका साथ अगाडि बढ्न प्रेस युनियनले आह्वान गरेको छ।





