काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । विभिन्न अस्पतालमा उपचाररत घाइते प्रदर्शनकारीहरूको मृत्यु भएसँगै स्थिति झनै भयावह बनेको छ ।
दिउँसो साढे ३ बजेसम्म प्राप्त विवरण अनुसार, ट्रमा सेन्टरमा ६ जना, एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा २ जना, केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको ज्यान गएको छ ।
सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सरकारको रवैया र आन्दोलन नियन्त्रण गर्ने शैलीमाथि गम्भीर प्रश्न उठाइएको छ । शान्तिपूर्ण प्रदर्शनको अधिकारको वकालत गरिए पनि यसले हिंसात्मक मोड लिँदा अप्रत्याशित मानवीय क्षति भएको छ ।
सरकारले तत्काल समस्याको समाधानका लागि सशक्त कदम चाल्नुपर्ने र आन्दोलनकारी पक्षले पनि संयमता अपनाउँदै वार्ताको माध्यमबाट निकास खोज्नुपर्ने आवश्यकता झनै बढेको छ ।




