काठमाडौं । युवा पुस्ताको ‘जेनजी’ प्रदर्शनमा राज्यद्वारा गरिएको दमनको सर्वोच्च अदालत बार एसोसिएसनले कडा शब्दमा निन्दा गरेको छ । बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले राज्य प्रशासनको निरंकुश र असंवेदनशील छविलाई उदांगो पारेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन, सुरक्षाकर्मीबाट चलाइएको गोली लागि दर्जनौं प्रदर्शनकारी घाइते भएको र केही सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बारले शान्तिपूर्ण प्रदर्शनमाथि भएको यस प्रकारको दमनलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा लिएको जनाएको छ । सर्वोच्च बारले हरेक सार्वभौम नागरिकलाई विरोध प्रदर्शन गर्ने संवैधानिक अधिकार रहेको स्मरण गराउँदै सरकारलाई संयमित, मर्यादित र जिम्मेवार बन्न आग्रह गरेको छ । ‘विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार हो। यसमाथि अंकुश लगाउने प्रयासले स्थिति थप प्रतिकूल बनाउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।
बारले तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । यो घटनाले नागरिक समाज र कानुनी वृत्तमा समेत ठूलो तरङ्ग ल्याएको छ ।




