नेपाली महिला मताधिकार दिवस: साधना प्रधानको ऐतिहासिक योगदान र वर्तमान सान्दर्भिकता

  • साधना स्मृति समाजद्वारा प्रकाशित ‘साधना’ नामक पुस्तक विमोचन 

काठमाडौं । नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको ऐतिहासिक दिनको सम्झनामा भदौ १७ गते काठमाडौंमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ र साधना स्मृति समाजले संयुक्त रूपमा आयोजना गरेको यस कार्यक्रमले नेपालकी पहिलो निर्वाचित महिला नेतृ साधना प्रधानको अतुलनीय राजनीतिक योगदानको स्मरण गर्‍यो ।

साधना प्रधान, जो नेपालको पहिलो निर्वाचित महिला प्रतिनिधि मात्र नभई पहिलो महिला सम्पादक र एसएलसी उत्तीर्ण गर्ने पहिलो चार महिलामध्येकी एक थिइन्, उनको जीवन महिला अधिकार र लोकतन्त्रका लागि गरिएको अथक संघर्षको पर्याय हो । महिलाको मताधिकार सुनिश्चित गर्न उनले पुर्‍याएको दीर्घकालीन योगदानको स्मरण गर्दै सो अवसरमा साधना स्मृति समाजद्वारा प्रकाशित ‘साधना’ नामक पुस्तक विमोचन गरियो ।

कार्यक्रममा नेकपा एमालेकी उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले महिलाले घरपरिवारको जिम्मेवारीसँगै पुरुषलाई राजनीतिक अभियानमा सक्रिय बनाउने भूमिकालाई राजनीतिक आन्दोलनकै महत्त्वपूर्ण हिस्सा मान्नुपर्नेमा जोड दिइन् । उनले साधना प्रधानको योगदानलाई संघर्ष, सम्मान र निरन्तरताको प्रतीकका रूपमा चित्रण गर्दै भनिन्, ‘साधना दिदीले राणा शासनविरुद्ध आवाज उठाउँदै महिला शिक्षा, मताधिकार र लोकतन्त्रका लागि अथक संघर्ष गर्नुभयो । उहाँको त्यही आँट र निरन्तर प्रयासका कारण आज हामीले यो उपलब्धि हासिल गरेका छौं ।’

सोही कार्यक्रममा २०४३ सालमा तत्कालीन गाउँ पञ्चायतबाट निर्वाचित महिलाहरू भवानी रिजाल (भानु) र गंगा डाँगीलाई पनि सम्मान गरियो । उनीहरूले भूमिगत अवस्थामा भोगेका अनुभवहरू सुनाउँदै प्रतिकूल परिस्थितिमा समेत महिलाले कसरी अग्रसर भई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरे ।

एमाले नेतृ विन्दा पाण्डेले साधना प्रधानको वैचारिक राजनीति र निस्वार्थपनको स्मरण गर्दै वर्तमान राजनीतिक परिदृश्यमा यसको सान्दर्भिकतामाथि प्रकाश पारिन् । ‘उहाँका अनुसार राजनीति विचार हो । आफ्नो इतिहास आफैंले बनाउनुपर्छ भन्ने उहाँको भनाइ आज पनि उत्तिकै मननयोग्य छ,’ पाण्डेले भनिन् । उनले भदौ १८ गतेलाई आम नेपाली महिलाले आफूलाई सार्वभौम नागरिकका रूपमा अनुभूति गरेको गर्विलो दिन भएको बताइन् ।

नेपाल महिला संघकी अध्यक्ष उषा रावतले अग्रज महिला नेतृहरूको जीवनकथा र संघर्षलाई दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै साधना प्रधानको जीवनी यस दिशामा मार्गदर्शक हुने विश्वास व्यक्त गरिन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री शशि श्रेष्ठले महिलाको साझा राजनीतिक आन्दोलनकै परिणामस्वरूप संविधानमा महिला अधिकार सुनिश्चित भएको र यसको रक्षाका लागि सबै दलका महिलाले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विभिन्न दलका महिला नेतृ, सांसद, स्थानीय तहका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो । साधना स्मृति समाजका अध्यक्ष शान्ति अधिकारीले भदौ १७ लाई प्रत्येक वर्ष ‘महिला मताधिकार दिवस’ का रूपमा मनाउन थालिएको र यस अवसरले आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा साधना प्रधानको राजनीतिक जीवन समेटिएको बिन्दा पाण्डेद्वारा संयोजित ‘साधना’ नामक पुस्तक विमोचन गरियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री