काठमाडौं । सरकारले आजदेखि नेपालमा सूचीकरण नभएका सबै सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । यससँगै अब नेपालमा सीमित संख्यामा रहेका सामाजिक सञ्जालहरू मात्र सञ्चालनमा आउनेछन् भने फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका लोकप्रिय प्लेटफर्महरू तत्कालका लागि बन्द हुनेछन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म पाँच वटा सामाजिक सञ्जाल प्लेटफर्महरू मात्र नेपालमा सूचीकरण भएका छन् । ती प्लेटफर्महरूमा टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ रहेका छन् । यीबाहेक टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले सर्वोच्च अदालतको आदेशको परिपालना गर्दै सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको सूचनामा सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभर नचल्ने गरी रोक लगाइने उल्लेख छ । तथापि, सरकारले बन्द गरिएका सञ्जालहरू सूचीकृत भएमा पुनः सञ्चालनमा आउने स्पष्ट पारेको छ ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूलाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । उक्त म्याद हिजो रातिबाट सकिएको थियो । सरकारको उक्त निर्णयलाई बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनः मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभर सूचीकृत नभएका सञ्जालहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
अब नेपालमा सञ्चालन हुने पाँच सामाजिक सञ्जाल:
-
टिकटक
-
भाइबर
-
निम्बज
-
वीटक
-
ओपोलाइभ
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका र बन्द हुने सञ्जालहरू:
-
फेसबुक
-
म्यासेन्जर
-
इन्स्टाग्राम
-
युट्युब
-
ह्वाट्सएप
-
ट्वीटर
-
लिंक इड
-
स्न्याप च्याट
-
रेडिट
-
डिस्कर्ड
-
पिन्ट्रेस्ट
-
सिग्नल
-
थ्रेड
-
वी च्याट
-
कोरा
-
टम्ब्लर
-
क्लब हाउस
-
मास्टर डन
-
रम्बल
-
मि वी
-
मि भिके
-
लाइन
-
इमो
-
जालो
-
सोल
-
हाम्रो पात्रो




